के भोलि शेरबहादुर देउवा प्रधानमन्त्री बन्छन् त ? यस्तो छ अंक गणित..

काठमाडौं : व्यवस्थापिका संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै संसदमा अवरोध नभए आइतबार नेपालले नयाँ प्रधानमन्त्री पाउने भएको छ ।


पूर्व सहमति अनुसार वर्तमान सत्ता गठबन्धनबाटै प्रधानमन्त्रीमा उम्मेदवारी दिन लागेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सहजै बहुमत जुट्ने देखिएको छ।

माओवादी केन्द्रसहित वर्तमान सत्ता गठबन्धनमा सहभागी दलहरू नयाँ सरकारमा पनि सहभागी हुने भएकाले देउवालाई प्रधानमन्त्रीमा निर्वाचित हुन सजिलो देखिएको हो । उनका निम्ति आवश्यक मत पुग्ने भएको छ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार आइतबार व्यवस्थापिका संसदमा हुने निर्वाचनमा देउवा प्रधानमन्त्रीमा निर्वाचित हुने पक्कापक्की जस्तै भएको छ । यो बीचमा एमालेले अन्य कुनै ठूलो राजनीतिक शक्तिसँग सम्झौता नगरेमा देउवा प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

पूर्वसहमतिअनुसार सभापति देउवालाई प्रधानमन्त्रीका लागि माओवादी केन्द्रको समर्थन रहेको छ भने वर्तमान सरकारमा सहभागी सबै दल अब बन्ने सरकारमा पनि सहभागी हुने भएका छन्।

माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी दलका ३ सय ११ सांसद छन्। प्रधानमन्त्री चयनका लागि व्यवस्थापिका संसद्का सदस्यहरूको बहुमत आवश्यक पर्छ।

संसदमा ५ सय ९३ सांसद रहेका छन्। बहुमतीय सरकार गठनका लागि २ सय ९७ सांसद आवश्यक पर्नेमा देउवाको पक्षमा ३ सय ११ मत अहिले नै जुटिसकेको छ। यो अंकगणितले पनि देउवा प्रधानमन्त्री बन्ने पक्का भएको हो ।

वर्तमान गठबन्धनमा कांग्रेससँग २ सय सात, माओवादी केन्द्रसँग ८२, फोरम लोकतान्त्रिकसँग १७, नेकपा संयुक्तसँग तीन, अखण्ड नेपालसँग एक र समाजवादी जनता पार्टीसँग एक सांसद रहेका छन् ।

अब बन्ने गठबन्धनमा पनि यी सबै दलको सहभागिता रहने कांग्रेसले जनाएको छ । नेपाली कांग्रेसले अन्य दललाई पनि सरकारमा सहभागी गराउन प्रयास जारी राखेको छ। कांग्रेस सभापति देउवाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि सरकारमा सहभागी गराउन तयारी थालिसकेका छन्। राप्रपासँग अहिले ३७ सांसद रहेका छन्।

प्रतिक्रिया दिनुहोस

0 comments

Write Down Your Responses

Powered by Blogger.