फरार गायक प्रकाश ओझा जेल चलान : १० वर्ष कैद
काठमाडौं : केन्द्रीय अनुसन्धान ब्युरोले मानव बेचबिखन तथा ओसार पसारको मुद्दाका फरार प्रतिवादी गायक प्रकाश ओझालार्इ पक्राउ गरेको छ।
सर्वोच्च अदालतले २०७३ माघ ४ गते ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियो । त्यसयता फरार रहेका ओझालाई ब्युरोको टोलीले शुक्रबार राजधानीको शंखमुलबाट पक्राउ गरेको हो ।
सुनसरीको इटहरी नगरपालिका ४ स्थायी घर भएका ओझालाई दुई अभियोगमा पाँच पाँच /वर्ष गरी सर्वोच्चले १० वर्षको सजाय सुनाएको थियो ।
ब्युरोले फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरे पश्चात शुक्रबार ओझालाई कैद भुक्तानका लागि केन्द्रीय कारागार सुन्धारा पाठाइएको ब्युरोका प्रमुख डिआइजी नवराज सिलवालले जानकारी दिए ।
ओझाले २०५९ सालदेखि लगातार दुई वर्षसम्म डर त्रास देखाई अनुचित प्रभावमा पारी तीनजना नाबालिकासंग अनैतिक सम्बन्ध राखेको प्रमाणित भएको थियो।
ओझाले पीडितले थाहा नपाउने गरी खिचेको अश्लिल तस्बिर तथा भिडियो देखाएर सार्वजनिक गरे मार्नेसम्म धम्की दिएका थिए। पटक-पटक धम्की दिएर यौन शोषण र अप्राकृति मैथुन गरेको र तस्बिर वेभसाइटमा समेत राखेको ठहर गर्दै अदालतले ओझालाई १० वर्ष कैद सजाय सुनाएको थियाे ।
पुनरावेदन अदालत विराटनगरको फैसलालाई उल्टाएर ओझालाई सर्वोच्च अदालतले गत वर्ष माघमा मानव बेचबिखन तथा ओसार पसार गरी दुर्इ मुद्दामा १० वर्ष कैद सुनाएको हो ।
ब्युरोले कुनैबेलाका चर्चित गायक र हास्य कलाकार समेत रहेका ओझा शंखमुलमा लुकिछिपी बसेर गीत संगीत रेकर्डिङमा समेत सक्रिय रहेको अवस्थामा पक्राउ गरेको हो ।


0 comments
Write Down Your Responses